Thursday, January 29, 2015

बोनम्यारो प्रत्यारोपण (Bone Marrow Transplant)

      रगतको रोग विभिन्न प्रकारका हुन्छन् । रगतको रोग निदानका लागि बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, त्यस्तो होइन । रोगको प्रकृति हेरी कुनै रोगलाई औषधि चलाउनुपर्छ भने कुनै रोगलाई बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ । बोनम्यारो प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘होमाटोपोएटिक स्टेम सेल’ भनिन्छ । स्टेम सेलले रगतको सम्पूर्ण कोष निमार्ण गर्छ । होमाटोपोएटिक स्टेम सेल बोनम्यारोमा हुन्छ र एकदमै थोरै मात्रामा रगतमा पनि हुन्छ । पहिले–पहिले स्टेम सेल बोनम्यारोबाट मात्र झिकिने हुनाले यसलाई बोनम्यारो प्रत्यारोपण भनियो, तर अहिले सेल सेपरेटर मेसिनको सहयोग र एक विशेष किसिमको औषधिको प्रयोगबाट रगतबाट नै स्टेम सेल निकाल्न सकिन्छ । बोनम्यारोबाट स्टेम सेल झिक्न मानिसलाई बेहोस बनाउन पर्छ भने मेसिनबाट झिक्न बेहोस बनाउनुपर्दैन । रोगको प्रकृति हेरी कसैलाई बोनम्यारोबाट झिकिएको स्टेम सेल दिइन्छ भने कसैलाई रगतबाट झिकिएको दिइन्छ ।

बोनम्यारो प्रत्यारोपण जटिल प्रक्रिया हो । धेरै रोगमा प्रत्यारोपण गर्नुअघि रोगलाई औषधिद्वारा नियन्त्रणमा राख्नुपर्छ । यसरी नियन्त्रणमा राखिसकेपछि एकदमै ‘हाइ डोज’ केमोथेरापी दिइन्छ । जसले बिरामीको क्यान्सर कोष र रक्त मासिकालाई नष्ट गरिदिन्छ । त्यसपछि मात्र पहिले जम्मा गरिएको स्टेम सेल वा दाताबाट झिकिएको स्टेम सेल रगत दिएको जस्तै गरेर प्रत्यारोपण गरिन्छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि बिरामीले धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । प्रत्यारोपणपछि बिरामीलाई प्रत्यक्ष असर पार्ने संक्रमण ग्राफ्ट भर्सेस होस्ट डिजिज (जीभीएचडी) नै हो । एक पटक प्रत्यारोपण गरिसकेपछि बिरामीलाई रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम गर्न एकदेखि दुई वर्षसम्म लाग्छ ।

साथै रोगको प्रकृतिअनुसार रोग प्रतिरोधात्मक क्षमतालाई प्रत्यक्ष असर गर्ने औषधि खानुपर्ने हुँदा संक्रमणको सम्भावना बढी हुन्छ । बिरामीलाई साधारण ब्याक्टेरियाको संक्रमणदेखि जटिल किसिमका भाइरल वा फङ्गल इनफेक्सन हुनेगर्छ । दाताको स्टेम सेल बिरामीको शरीरमा प्रत्यारोपण गर्दा दाताका लिम्फोसाइटहरू पनि रगतसँगै बिरामीको शरीरमा पुगेर बिरामीलाई हानी पु¥याउने गर्छ । त्यही प्रक्रियालाई जीभीएचडी भनिन्छ । जीभीएचडी एकदमै धेरै मात्रामा भए बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ ।

बोनम्यारो प्रत्यारोपण गर्ने दाताबारे पनि धेरै जिज्ञासा पाइएको छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि दातालाई केही पनि हुँदैन । यो प्रक्रिया रगत दान गरेजस्तै हो । बोनम्यारो प्रत्यारोपण गर्दा दाता र बिरामीको रक्त समूह मिल्नुपर्छ भन्ने छैन । दाता र बिरामीको एचएलए टाइप (विशेष प्रकारको रगतको जाँच) गरिन्छ र दुवैको एचएलए मिल्यो भने प्रत्यारोपण गरिन्छ । आफ्नै सहोदर दाइ, भाइ, दिदी, बहिनीको एचएलए मिल्ने सम्भावना २५ प्रतिशत हुन्छ भने अन्यको मिल्ने सम्भावना एक प्रतिशत हुन्छ ।




Tuesday, January 27, 2015

मृगौला खराब (फेल) हुने मुख्य १० कारणहरु

           किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्याउँछ ।

१. पानी कम पिउने :
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२. नून बढी :
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३. पिसाव रोक्ने :
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

४. गुलियो खाने बानी :
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५. पोषणको अभाव :
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६. मासु बढी खाने :
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७. अनिद्रा :
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८. चिया कफी बढी सेवन :
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९. पेनकिलर (दुखाई कम गर्ने औषधी) सेवन :
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१०. जाँड रक्सी :
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

यी १० कुरा सँधै ख्याल गर्नुस ल !